कृषि र पर्यटनका लागि ‘नमूना मोडल परियोजना’ आवश्यक

पहरेदारीको प्रणसहित हाम्रो औपचारिक यात्रा प्रारम्भ

संविधानले नागरिकका लागि सुनिश्चित गरेको मौलिक हकको वास्तविक अर्थमा प्रत्याभूत गराउन सञ्चारमार्फत अनवरत पहरेदारी गर्ने प्रणसहित साइनटचखबरडटकमले आजदेखि औपचारिक यात्रा प्रारम्भ गरेको छ । राज्यका नीति-निर्माताहरू नै कृषि र पर्यटनको महत्वका बारेमा गम्भीररूपमा सम्वेदनशील र पर्याप्तरूपमा सचेत नभएको यस विषयमा आमनागरिकलाई जागरुक गराउनु र नीति-निर्माताको सोच तथा शैली बदल्नु आफैँमा जटिल र लामो यात्रा हुने निश्चित छ । कृषि र पर्यटन क्षेत्रप्रति प्रतिबद्ध विशिष्टीकृत सञ्चारमाध्यमले त्यसमा अवश्य पनि मजबुत इँटा थप्न सक्छन् भन्ने निष्कर्षसहित यो यात्रा प्रारम्भ गरिएको हो । निष्पक्ष र परिपक्व पत्रकारिता गर्ने अनलाइन सञ्चार माध्यमकारूपमा परिचय दिन र हतार अनि हचुवामा असंगत विषयवस्तु पस्कनु हुँदैन् भन्नेमा हामी दृढ छौँ । इन्टरनेटको प्रभुत्व स्थापित भएको आजको युगले आमनागरिक पत्रकार (सिटिजन जर्नालिज्म)को अवधारणालाई व्यापक बनाएको छ । अब नागरिकले पाएका सूचना छाप्न सञ्चारगृह धाउनुपर्ने युग समाप्त भइसकेको छ । सामाजिक सञ्जाल नै सूचना ब्रेकिङ गर्ने दिशामा क्रियाशील भइसकेको यो वर्तमान परिस्थितिमा ब्रेकिङको निरपेक्ष दौडमा हामी कहिल्यै कसैसँग प्रतिष्पर्धा गर्ने छैनौँ । हामी तथ्यपरक, सन्तुलन र विश्वसनीयतालाई मूल मन्त्र बनाएर ‘केही ढिला भएपनि विश्वसनीयतामा चुक्नुहुँदैन्’भन्ने मर्मलाई आत्मसात् गर्दै अनलाइनका नाममा छिटो गर्ने होडबाजीका खातिर पत्रकारिताको धर्म, समाचारको वैधता, सामग्रीमाथिको विश्वसनीयता र भाषागत अनुशासनमा सम्झौता गर्ने धृष्टता कहिल्यै नगर्ने पक्षमा दृढ रहने छौँ । हामी कृषि र पर्यटन क्षेत्रका सूचना, नीतिको विश्लेषण, नीतिगत बहस, मार्गनिर्देशनसँगै आमनागरिकका यससँग जोडिएका मसिना विषयलाई पनि ‘फोकल लेन्स’ लगाएर सरलरूपमा बुझिने गरी पस्किने प्रण गर्दछौँ । कृषिलाई प्रमुख क्षेत्रकारूपमा विकास गरौँ ! यसलाई पर्यटनसँग जोडौँ !! अनि उत्पादन बढाउन कृषिमा संरचनागत सुधार !!! भन्ने मान्यतालाई हामी सदैव शिरोधार्य गरेर हाम्रा प्रस्तुती पस्कनेछौँ । अहिलेको अवस्थामा अत्यधिक मात्रामा जग्गामा भएको खण्डिकृतले कृषि क्षेत्रमा अनुदान मात्रै दिएर उल्लेख्य उत्पादन वृद्धि सम्भव छैन् भन्ने ठम्याइबाट जग्गाको पुनर्संरचना गरिनुपर्छ र त्यसका लागि ‘कन्ट्रयाक्ट फार्मिङ’ वा ‘सामुदायिक फार्मिङ’ वा दुबै प्रकृतिका कृषि प्रणालीमा जानैपर्छ अनि दुवैमा लगानीकर्ताचाहिँ संगठित निजी क्षेत्रकै हुनुपर्छ भन्नेमा हाम्रो अभियान रहनेछ । राज्यले यहाँ उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ । जब-जब ‘कन्ट्रयाक्ट फार्मिङ’ वा ‘सामुदायिक फार्मिङ’को स्तर ठूलो हुँदै जान्छ त्यसमा प्रविधिको प्रयोग पनि बढ्दै जान्छ । जसले उत्पादन र उत्पादकत्व दुबै बढाउँछ । जमिनको हालकै खण्डिकृत अवस्थामा भने व्यावसायिक कृषि एउटा चर्को नारा मात्रै हुन जान्छ, तर उपलब्धिचाहिँ खासै हुन सक्दैन् भन्ने विषयमा हामी निरन्तर कलम चलाइरहनेछौँ । नेपालमा ८० प्रतिशतभन्दा बढि जनसङ्ख्या कृषिमा आधारित छ । ५० लाखभन्दा बढि युवा विदेशमा आफ्नो पसिना बगाइरहेका छन् । हालसम्म नेपालमा परम्परागत तरिकाले कृषिको काम ह्ँदै आएको छ । तर, केही मात्रामा युवा समुदायले आधुनिक तरिकाले नाफामुलक ब्यवसायकारूपमा कृषिलाई अपनाएको पनि देखिन्छ । युवा जमात कृषि प्रधान देशमा कृषि कर्मलाई अङ्गाल्दै गरेको स्थितिमा हाम्रो यो अभियानले यथार्थपरक ब्यावसायिक कृषिलाई सञ्चारक्षेत्रका माध्यमबाट भएपनि केही नयाँ जानकारीमूलक ज्ञान, प्रोत्साहन, सिकाइ होस् भन्ने हाम्रो ध्येय हुनेछ । हामी सफलरूपमा सञ्चालित कृषि फर्ममा भएका गतिविधि र केही विज्ञ व्यक्तित्वकासाथै अनुभवी कृषकका अनुभवहरू पनि समाचारको माध्यमबाट कृषि पेशामा सम्भावना देख्ने आम कृषकहरूमाझ पस्केर कृषि-पर्यटनको अवधारणा स्थापित गराउने दिशामा क्रियाशील हुनेछौँ । सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो, कृषि-पर्यटन। कृषि-पर्यटन व्यवसायले स्थानीयरूपमा नै रोजगारी सिर्जना गर्दछ अनि स्थानीय स्रोत-साधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्दछ। कृषि-पर्यटनको विकासले युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोक्छ भन्ने मान्यता स्थापित गराउनु अर्को चुनौति हुनेछ । नेपालमा कृषि-पर्यटनको आयाम एवं क्षेत्रमा व्यवसाय र बजार अथाहा छ भन्ने मार्गदर्शन गर्न हामी प्रयासरत् रहनेछौँ ।
निजी र सरकारी क्षेत्र मिलेर, नयाँ शिराबाट कृषि र पर्यटन मिलाएर कृषि-पर्यटनको विकासबाट नै देशको समृद्धि सम्भव छ र कृषि-पर्यटनबाट नै नेपालको रूपान्तरण हुनेछ भन्ने आभाष युवा पुस्तामाझ व्यापक बनाउने हाम्रो प्रयास हुनेछ । समृद्ध नेपाल बनाउन अब कृषि-पर्यटन नै हो । आत्मनिर्भर अर्थतन्त्रको जग नै कृषि र पर्यटन हुनेछ । कृषि र पर्यटनमा विकास भएमात्र समृद्धि हासिल हुनसक्ने भनाइ स्थापित गर्ने पहल हाम्रो हुनेछ । कृषि र पर्यटनका लागि अब सरकारले आफ्नो पहिलो प्राथमिकतामा राखेर ‘नमूना मोडल परियोजना’ बनाउनुपर्छ र निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा ति परियोजना अघि बढाइनुपर्छ । कृषि र पर्यटन विकासका लागि बनाइने त्यस्ता परियोजनाहरूलाई आधुनिकीकरण गर्नसके समृद्धि त्यत्ति टाढाको सपना हुनेछैन् भन्ने सन्देश दिन हाम्रो कसिलो प्रयास हुनेछ । यति हुँदाहुँदै हामी कृषि र पर्यटनबाहेक अन्य विषय उठान नगर्ने पक्षमा पक्कै छैनौँ । मुलुकको राजनीति, सामाजिक, आर्थिक, सुशासनलगायत समसामयिक विषयवस्तु उठानलाई पनि त्यत्तिकै महत्व दिनेछौँ । मुुलुकमा राजनीतिक परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि बदलिइरहन्छ। हिजोका दिनमा आमसञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिको वकालतमा लाग्नुपरेको थियो । तर, आजको सञ्चारमाध्यम नागरिकको अधिकार, मुलुकको सामाजिक एवम् आर्थिक विकासका मुद्दाहरुमा केन्द्रित हुनुपर्नेछ । यसका लागि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह अनिवार्य हुन्छ। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् रहँदै कसैप्रति आग्रह/पूर्वाग्रह नराखेर व्यावसायिक पत्रकारितालाई मूल मन्त्र ठान्नेछौँ । साइनटचखबरडटकम अनलाइन पोर्टल कृषि-पर्यटनसँगै लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य-तथ्य सूचना सम्प्रेषणमा सक्रिय रहिहरने विश्वास दिलाउन चाहन्छौँ । साइटटच मिडियाका तर्फबाट हाम्रा पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा कृतज्ञ रहनेछौँ । हाम्रो प्रयासले कृषि र पर्यटनमा आमनागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेछ भन्नेमा विश्वस्त छौँ । Shine Touch Media Pvt. Ltd. छापा तथा विद्युतीय सञ्चारमाध्यममा २१ वर्षसम्म निरन्तर काम गरेका अनुभवी र दक्ष सञ्चारकर्मीद्वारा स्थापित एउटा सशक्त सञ्चारमाध्यम हो । यसले अनलाइन समाचारकासाथै टेलिभिजनमा बजाइने सार्वजनिक तथा सन्देशमूलक सूचना सन्देश (PSA), विज्ञापन (Advertise), कृषि र पर्यटनसम्बन्धी बृत्तचित्र (Documentary), कृषिमा आधारित विशेष रिपोर्ट (Special Report), व्यक्तिगत भिडियो प्रोफाइल, विभिन्न शैक्षिक संस्था, व्यावसायिक र व्यापारीक घराना, व्यक्तिगत र पारिवारीक प्रोफाइल, व्यवसायको उन्नतिमा आधारित बृत्तचित्र, सन्देशमूलक टेलिसिरियल, म्यूजिक भिडियो एवं फिल्मलगायत सबैप्रकारका कार्य गर्ने लक्ष्यसमेत लिएको छ । यो सुखद अवसरमा आमपाठक, विज्ञापनदाता र शुभचिन्तक सबैको सदाशयताको कदर गर्दछौँ । भविष्यमा पनि तपाइहरुको रचनात्मक सुझाव र सहयोग हामीलाई अमूल्य हुनेछ । धन्यवाद !

Shine Touch Media Pvt. Ltd.

Baneshore, Kathmandu, Nepal.

Email : shinetouchmediaa@gmail.com

YouTube : Youtube/Shine Touch Media

Facebook : Facebook.com/shinetouchmedia