मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई विस्थापित गर्न खोज्यो : अध्यक्ष दुलाल

सरकारले ल्याएको मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई विस्थापित गर्न खोजेको बताइएको छ । नीतिले कसरी विस्थापित गर्छ भन्नेबारेमा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालसँग गरिएको संक्षिप्त कुराकानी :

सरकारले भर्खरै मौद्रिक नीति ल्याएको छ ? उसलाई कसरी लिनुभएको छ ?

सरकारले ल्याएको मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग पुग्ने स्पष्ट छ । यसले कालान्तरमा अटोमोवाइल्स क्षेत्र विस्थापित हुने संकेत देखेको छु ।

के भएन र त्यसमा त्यस्तो देख्नुभयो ?

मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरिएको छ । हाम्रा माग र सुझावहरु त्यसमा सम्बोधन भएको छैन् । राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरि सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनुपर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याइएको सोही नीतिलाई नै निरन्तरता दिएको छ ।

कस्ता सुझाव थिए तपाइहरूका ?

यो मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गर्यो तर हाम्रो भने डाउन पेमेन्ट १० प्रतिशत बनाउने एउटा मात्र सुझावको पनि सम्बोधन गरेन् ।

अब सरकारलाई के भन्नुहुन्छ त ?

अटोमोबाइलको विकासबिना देशको विकास सम्भव नहुने प्रष्ट छ । तर, मौद्रिक नीतिमा यो क्षेत्रलाई निरुत्साहित गर्ने काम भयो । हाम्रो यसमा घोर आपत्ति छ । सरकारले यसमा ध्यान दिनुपर्छ ।