एक हजारबाट शुरु गरेको कृषिले बनायो करोडपति !

कार्कीको प्रगति देखेर साथीहरु पनि आश्चर्यचकित

गलेश्वर (म्याग्दी)। आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति बनेका छन् । म्याग्दीको बेनी नगरपालिका- २ खवराका चन्द्रबहादुर कार्की विदेशी भूमिमा होइन, आफ्नै खेत खलोको माटोमा मेहनतको पसिना बगाउँदै करोडपति बन्न सफल बनेका छन् ।

विसं २०३४ मा १८ वर्षको उमेरमा ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा शुरु गर्नुभएका उहाँ अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल हुनुभएको हो । सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्यचकित भएका छन् । उहाँ अहिले जिल्लाको नमूना कृषकका साथै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा पनि चिनिनुहुन्छ ।

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुनुहुन्छ । उहाँको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल लहलह झुलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

“मैले १८ वर्षको उमेरदेखि तरकारीखेती शुरु गरेको हुँ” कार्कीले विगत कोट्याउँदै उहाँले भन्नुभयो, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।” तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाइसक्नुभएको र बेनीमै अर्को घडेरीसमेत किनिसक्नु भएको छ । कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ हुने बताउनुुहुने उहाँ दैनिक तीन लिटर दूधसमेत बिक्री गर्नाका साथै गाउँमा र बेनीको मङ्गलाघाटमा दुई वटा पसलसमेत सञ्चालन गर्नुभएको छ ।

बेनीको मङ्गलाघाटमा रहेको उहाँको पसलमा आर्गानिक कृषि उपज, फलफूल र तरकारीका बिरुवा (बेर्ना) बर, पिपल, समी, तुलसीलगायत धार्मिक बिरुवासमेत पाइन्छन् । “एक लाखबाट शुरु गरेको कृषि पेसाले अहिले करोडौँको सम्पत्तिको मालिक बनायो”, कार्कीले भन्नुभयो । “माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो, “यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपु-यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो”, कार्कीको भनाइ थियो ।

खबराको पिपलडाँडाको तल्लोपट्टी पर्यटकीयस्थल लभलिहिलको नजिकै रहेको उहाँको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय बुद्धिजीवी भद्रबहादुर कार्कीले बताउनुभयो । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारीखेती र केराबारी हेर्नका लागि लभहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकसमेत उहाँको कृषि व्यवसाय नियाल्न जाने गरेका छन् । आकर्षक पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गरेको लभहिलमा आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएपछि कार्कीले करीब रु १० लाखको लगानीमा स्विमिङ पुल (पौडीपोखरी)समेत बनाउनुभएको र त्यहाँ प्रतिव्यक्ति रु ३० तिरेपछि चाहेजति समय पौडी खेल्न पाइन्छ ।