कोरोना जित्न सरकारलाई दोष होइन, आफैं सचेत बनौं !

सजगता अपनाउने हो भने कोरोनामाथिको हाम्रो विजय सुनिश्चित

करिब ५ महिनायता विश्वमा महाप्रलयकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९)ले यतिबेला नेपाललाईसमेत आतङ्कित बनाइरहेको छ । दिन दुइगुना अनि रात चौगुनाका दरले बृद्धि भइरहेको कोरोनाबाट देशका विभिन्न जिल्ला ‘कोरोना हटस्पट’ बनिरहेका छन् । अर्थात यतिबेला हाम्रो देश नेपाल कोरोनाको उच्च जोखिममा छ । विहीवारमात्र थप ३६० जना नयाँ संक्रमित फेला परेका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ भने ६५ जनाको मत्युृ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

कोरोनाको विश्व अवस्थालाई नियाल्ने हो भने सबैभन्दा बढि अमेरिका प्रभावित बनेको छ भने नेपाल ६६ औँ स्थानमा रहेको छ । यस्तै, एशियाली मुलुकहरूमा सबैभन्दा बढि भारत प्रभावित देशको शिर्ष स्थानमा छ भने नेपाल २५ औँ स्थानमा छ । कोरोनाको जोखिम कम गर्न यतिबेला संघीय, प्रदेश तथा स्थानीय तहले आ–आफ्नै रफ्तारमा काम गरिरहेका छन् । यसको लागि स्थानीय तहले बिशेष सजगता अपनाइरहेका छन् । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने क्रम बढ्दो छ । संक्रमितहरूको संख्या बढ्दै गएपछि सरकारले १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ ।
यतिबेला सप्तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्णरूपमा निषेधाज्ञा जारी गरिएको छ । सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
यस्तै, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरूमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।
नुवाकोट पूर्व बाहैवेर भन्ज्याङ, पश्चिम नयाँ चौतारा, उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरीडाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
मोरङको विरानगर महानगरपालिकामा साउन ३० गतेसम्म, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको धरान उपमहानगरपालिकामा साउन २९ गतेसम्म र बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म तथा बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो ।
यता, महोत्तरी, बझाङ, दार्चुला, स्याङ्जामा पनि निषेधाज्ञा जारी गरिएको छ । यस्तै, अन्य जिल्लाका केही स्थान तोकी ती स्थानमा मात्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, ६ जिल्लाहरुमा पूर्णरूपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो हिसावले काम गरिरहेको छ । तथापी, हामी आफैं सचेत नभएको अवस्थामा भने जतिसुकै नियन्त्रणको प्रयास गरेपनि त्यसले सकारात्मक परिणाम ल्याउन सक्ने छैन् ।
नेपालमा कोरोना संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेबाट करिब ४ महिना लामो लकडाउन गरेको थियो । देशको अर्थतन्त्र डामाडोल हुने भन्दै कोरोनाबाट बच्दै अघि बढ्ने नीतिअनुरुप साउन ७ गतेबाट लकडाउन हटाइएको छ । पछिल्लोसमय कोरोनाको संक्रमणदर बढ्न थालेपछि फेरि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम बढ्दो छ । कतिपय जिल्लामा कोरोना भाइरस संक्रमणका विरामी थपिँदै जान थालेपछि निषेधाज्ञाको अवधि लम्ब्याइएको छ ।
यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिना काम आवत–जावत गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्दैछन् । स्थानीय प्रशासनको आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
यता, काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा बिहीबारदेखि जोर विजोर लागू भएको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाएको हो ।
लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २४ जनाको मृत्यु भएको छ ।
सुरुवाती दिनमा विदेशबाट आउनेहरुबाट कोरोना भाइरस नेपाल भित्रिएको थियो । त्यतिबेलाको अवस्थामा हामी आफैं पनि सजग र सचेत भएको भए अहिले यो अवस्थासम्म आउनुपर्ने स्थिति हुने थिएन् । नेपालमा यतिबेला कोरोनाले चारैतिर गाँज हालिसकेको छ । यसकाविरुद्धमा हालसम्म पनि खोप वा औषधि फेला परिसकेको छैन् । यस्तो अवस्थामा रोगलाई आफुछेउ आउन नदिनु नै सबैभन्दा उत्तम उपाय र बुद्धिमानी हुनेछ । तथापि यस्तो प्रतिकूल समयमा पनि विभिन्न स्थानमा भिडभाड तथा कतिपय माग पूरा गराउने नाउँमा आन्दोलन हुनु आफैंमा मूर्खता हो । जबकी हामीलाई थाहा छ– भिडभाडबाट यो रोग एक मानिसबाट अर्को मानिसमा सर्छ भनेर । धेरै पर नजाऔं, देशमा संक्रमण दर दिनप्रतिदिन बढ्दो अवस्थामासमेत साँस्कृतिक परम्परा गाइजात्रा हेर्नेको भिडले हामी कति लापरबाही गर्दैछौ भन्ने प्रस्ट पारेको छ ।
अर्कोतर्फ टोल बजारमा बेपर्वाह हिड्ने बानीले भोलिका दिनमा हाम्रै सामु कोरोना नआइपुग्ला भन्न सकिने अवस्था छैन् । बुधवारमात्रै कोरोनाका कारण ६ जनाले एकै दिन ज्यान गुमाउनुपरेको तितो सत्यता हामीबाट छिपेको छैन् । यसको अर्थ अझै लापरबाही गरेको खण्डमा हामी आफैं पनि कोरोनाको शिकार हुन कुनै आइतवार लाग्ने छैन् । त्यसैले अनिवार्यरूपमा मास्क लगाऔं । आफुले लगाएको मास्क नियमितरूपमा धुने गरौं । लगाइएको मास्क हटाउँदा सावधानी अपनाउनुपर्छ । आँखा, नाक, मुख नछोइकनै मास्क खोल्ने गर्नुपर्छ । हरेकपटक मास्क खोलेलगत्तै साबुन पानीले हात धुनुपर्छ । हिड्नै परेको अवस्थामा भौतिक दूरी कायम गरौं ।
कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले दिएको सल्लाहलाई पनि यस लेखमा समेट्न चाहे । ताकी हामीले अपनाउने सावधानीमा थप बल पुगोस् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नियमितरुपमा साबुन पानीले हात धुनुपर्छ अथवा अल्कोहल भएको स्यानिटाइजर लगाउनुपर्छ । खोकेपछि र हाँच्छिउ गरेपछि, संक्रमितको हेरचाह गरेपछि, खाना पकाउनु अघि र पछि, खानुअघि, चर्पीको प्रयोग गरेपछि, हात मैलो भएपछि, फोहोरमैला छोएपछि र जनावरहरु छोएपछि हात धोइहाल्नुपर्छ ।
खोकी लागिरहेको वा हाँच्छिउ गरिरहेका व्यक्तिबाट कम्तिमा १ मिटर को दूरी कायम गर्नुपर्छ । आफ्नो हातले आँखा, नाक वा मुख छोइरहनु हुँदैन् । सार्वजनिक स्थानमा थुक्नु पनि हुन्न । खोक्दा वा हाँच्छिउ गर्दा सधै मुख र नाक टिस्यूले वा हातको पाखुरा दोबारेर छेक्नुपर्छ । त्यसरी प्रयोग गरेको टिस्यू तुरुन्तै विसर्जन गर्नुपर्छ । हात धोइहाल्नुपर्छ ।

कोरोनाबाट बच्न सबैभन्दा पहिला आफैं सजग बन्नुपर्छ । कम्तिमा म र मेरो परिवारलाई कोरोनाबाट बचाउन भूमिका खेल्छु भन्ने संकल्प लिनुपर्छ । यसरी सबै जनाले आ(आफ्नो स्थानबाट सजगता अपनाउने हो भने कोरोनामाथिको हाम्रो विजय सुनिश्चित छ । दोष सरकारलाई मात्र दिने भन्दा पनि आफुले सकेको सावधानी अपनाऔं । सचेत रहौं, सुरक्षित बनौं ।