१५ लाख भायल ‘एन्टीस्नेक भेनम’ उत्पादन गर्छौँ : अध्यक्ष फूयाँल

‘नेपालकै गौरवको राष्ट्रिय उद्योग’का रूपमा स्थापित हुन लागेकाले सबैको सहयोग आवश्यक

नेपालमा समयमै औषधोपचार नपाउँदा बर्षेणी सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउँदै आइरहेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ  । सर्पको टोकाइबाट बचाउन सरकारी प्रयास पनि पुग्दो छैन् । कतिपय उपचारकै अभावमा छटपटिरहेका छन् । यस्तै विषम परिस्थितिलाई मध्यनजर गर्दै सुनसरी जिल्लाभित्र निजी पहलमा ‘एन्टीस्नेक भेनम सेरम’ उत्पादनको तयारी थालिएको छ । सशस्त्र प्रहरी वलको मेडिकल शाखामा करिब १२ वर्ष जागिर गरेका अहेब, माइक्रोबायोलोजिष्ट अनि ल्यावटेक्नोलोजिष्ट लक्ष्मीप्रसाद फूयाँल अहिले सर्पदंशको औषधी नेपालमै उत्पादन गर्न सकिने सम्भावना देख्दै आइरहेका छन् । नेपालमै सर्पदंशको औषधी उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहेका सर्पविद्समेत रहेका फुयाँलसहितको एउटा समूहले बराहक्षेत्र नगरपालिका- ३ बेलाहा, बाङ्गेमा ‘एन्टिस्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्राइभेट लिमिटेड’ स्थापना गरेर सर्पको टोकाइबाट बच्ने औषधी नेपालमा सजिलै उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गर्दैछन् । २०७१ भदौ ५ गते स्थापना भएको सो कम्पनीका अध्यक्षसमेत रहेका फूँयालसँग साइनटचखबरका प्रधान सम्पादक सागर आत्रेयले एन्टीस्नेक भेनम सेरम उत्पादनसम्बन्धी विभिन्न कोणबाट जान्ने प्रयास गरेका छन् । प्रधान सम्पादक आत्रेय र कम्पनीका अध्यक्ष फूँयालबीच भएको कुराकानीको सारसंक्षेप ।

सर्पदंशको उपचारका लागि नेपालमै औषधी उत्पादन गर्न सकिन्छ भन्ने सोच किन र कसरी आएको हो ?

सरकारले भारतबाट ठूलो धनराशि खर्चेर सर्पको औषधि खरिद गरेर ल्याउने गरेको भएपनि नेपालमा सर्पदंशको औषधीको हाहाकार हुँदै आइरहेको छ । सर्पदंशको औषधी नेपालमा उत्पादन गर्न सकिन्छ भन्नेमा हाम्रो कम्पनीले केही प्राविधिक र विज्ञसम्मिलित छलफल गरेर नेपालमै उत्पादन गर्न सकिने सम्भावना देखेको छ । त्यही सम्भावनालाई हामी मूर्तरूप दिन घनिभूतरूपमा लागिरहेका छौँ । नेपालमा एन्टीस्नेक भेनम सेरमको अभावलाई पूर्ति गर्दै कुनैपनि नेपालीले औषधीको अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हामी अगाडि बढिरहेका छौँ ।

औषधीको अभाव छ भन्नुभयो ? अहिले कहाँबाट कति मात्रामा सर्पदंशको औषधी आइरहेको छ ?

नेपालमा वार्षिक ५० हजार भायल सर्पदंशको औषधिको माग छ । त्यसमध्ये भारतबाट वार्षिकरूपमा ३० हजार भायल औषधि किन्न नेपाल सरकारले झण्डै चार करोड रुपैयाँ खर्च गर्नु परिरहेको छ । तरपनि त्यो अपुग छ । हामी त्यही अभावलाई परिपूर्ति गर्नका लागि काम गर्दै अगाडि बढ्ने तयारीमा छौँ ।

नेपालमा कस्तो औषधी प्रयोग हुँदै आइरहेको छ र तपाइहरूले कुन औषधी उत्पादन गर्ने तयारी थाल्नुभएको छ ?

नेपालमा प्रयोग भइरहेको सर्पदंशको औषधि पोलिभेनम हो भने विकसित राष्ट्रहरुले मोनोभेनम औषधि प्रयोग गर्छन् । हामीले पोलिभेनम र मोनोभेनम दुवै प्रकारका औषधि बनाउन चाहेका छौँ । अहिले हामी मोनोभेनम उत्पादनको तयारीमा छौँ । हामी सुरुमा १५ लाख भायल उत्पादनको लक्ष्यमा छौँ । तत्काललाई हाम्रो उत्पादन नेपाली बजारमै खपत हुने अनुमान छ । हामी त्यसकै लागि तयारीमा जुटिरहेका छौँ ।

नेपालमा अहिले सर्पदंशको उपचार नपाएर कति जनाले ज्यान गुमाउनुपरेको छ ? सामान्यतया एउटा विरामीका लागि कति भायल औषधी आवश्यक पर्छ ?

नेपालमा पछिल्लो सरकारी तथ्याङ्क हेर्ने हो भने करिब बार्षिकरुपमा एक हजार जनाले उपचार अभावमा ज्यान गुमाइरहेका छनु । सर्पको टोकाइपछि तत्काल सहज र भरपर्दो उपचारपद्दती सुरु गर्नुपर्नेमा अहिले विषको मात्रा हेरेर औषधी चलाउँदै आइएको छ । सर्पले टोकेपछि कुन जातको सर्पले टोकेको हो भन्ने पहिचान गर्ने प्रविधि हामीसँग छैन् । विरामीलाई विष चढ्दै गएपछि मात्रै औषधी चलाउने भएकाले उसको अवस्था हेरेर १५ देखि ५०/५५ भायलसम्म औषधी चलाउनुपर्ने हुनसक्छ ।

तपाइहरू निजी क्षेत्रबाट एन्टीस्नेक भेनम सेरमको उत्पादन थाल्दै हुनुहुन्छ ? कम्पनी स्थापनाका लागि यसमा सरकारी सहयोग कस्तो पाउनुभएको छ ?

पक्कैपनि हामी नेपालमै पहिलोपटक एन्टीस्नेक भेनम सेरम उत्पादनको तयारीमा छौँ । निजी क्षेत्रको लगानीमा नेपालमै पहिलोपटक स्थापना हुन लागेको यो कम्पनी सञ्चालनमा सहयोग गर्ने दायित्व सरकारको हुन्छ । सरकारले आवश्यक नीतिगत तथा कर सहयोग, अनुसन्धानमा सहयोगलगायतका क्षेत्रमा सहयोग गर्न आवश्यक छ । किनभने हामी सर्पले टोकेका विरामीलाई आरामदायी उपचारपद्दतीको विकासमा लागिरहेका छौँ । विभिन्नचरणमा भिजिट गर्ने मन्त्री र सरकारी उच्च अधिकारीले पनि ‘नेपालकै गौरवको राष्ट्रिय उद्योग’का रूपमा स्थापित हुन लागेको भन्दै सहयोग र सहकार्य गर्ने बताइरहनुभएको छ । अब भविष्यमा के गर्नुहुन्छ, त्यो भने हेर्न बाँकी छ ।

तपाइहरूले स्थापना गर्न लागेको उद्योगको लागत कति हो र यसमा कतिजनाको सहकार्य रहेको छ ?

नेपालमा टोक्ने सर्प पहिचान नभएको खण्डमा पोलिभेनम औषधि उपयोगी हुन्छ । यसले सबै किसिमका सर्पको टोकाइमा काम गर्छ भने सर्पको पहिचान भएमा मोनोभेनम औषधी बढी उपयोगी हुन्छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्नको लागि उद्योग स्थापना गरिएको हो । हामीले वार्षिक १५ लाख भायल औषधी उत्पादन गर्ने लक्ष्यका ८८ करोड ६३ लाख रुपैयाँको लगानीमा कम्पनी स्थापना गरेका हौँ । यसमा सबै क्षेत्रका साथीहरुको करिब २० जनाको टीम रहेको छ । हामीलाई उद्योग सञ्चालनपछि प्राविधिक र अप्राविधिक गरी ४०० जना कर्मचारीको आवश्यकता पर्छ ।

अनि, कम्पनी स्थापनाका लागि के के प्रक्रिया थाल्नुभयो र ति कत्तिको झन्झटिलो भयो ?

नेपालमा कानुन अभावको कारण निकै वर्ष अगाडिदेखिको योजना भर्खरै सुरुवात भएको हो । हामीले चार वर्षअघिदेखि नै योजना बनाएर बसेका थियौ तर नेपालको तत्कालीन कानुनले वन्यजन्तुलाई व्यसायिकरूपमा प्रयोगमा ल्याउन नपाइने प्रावधानका कारण ढिला भएको हो । भेनम आपूर्ति सम्बन्धी सन् २०१२ मा भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधि एन्टीस्नेक भेनम सेरम भारत मै पर्याप्त नभएको भन्दै निर्यात नगर्न आदेश दिएको थियो । आदेशपछि नेपालमा उक्त औषधिको अभाव चर्किने निश्चित भएका कारण स्वास्थ्य मन्त्रालयले एन्टीस्नेक भेनम सेरमको उत्पादनको सम्भाव्यता अध्ययन थालेको थियो । तत्कालीन वन्यजन्तु संरक्षण ऐन २०२९ मा वन्यजन्तुलाई व्यावसायिक ढङ्गबाट प्रयोग गर्न नपाउने उल्लेख थियो । तर, नेपाल सरकारले गरेको सम्भाव्यता अध्ययनमा एन्टीस्नेक भेनम सेरम उत्पादन गर्न सकिने जनाएपछि कानुनी जटिलता अन्त्य गर्न पहल भएको थियो । पहलअनुसार संसद्ले २०७३ मा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १५ क थप्दै व्यावसायिकरूपमा सरकारको अनुमतिमा वन्यजन्तु प्रयोग गर्न प्रावधान ल्याएको हो । सर्पदंशको औषधि उत्पादन गर्न कच्चा पदार्थका रूपमा सर्पकै विष चाहिने भएकाले सर्प पाल्न सरकारसँग अनुमति माग्न हामीले पटकपटक सरकारी निकायमा ताकेता ग-यौँ, तर जिम्मेवार व्यक्तिले वास्ता नगर्दा ढिलाइ भएको थियो । सर्पदंशको औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पपालन तथा अनुसन्धान गर्न पाऊँ भनी दुई वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागसहित सरोकार भएका मन्त्रालयमा निवेदन दिएका थियौँ । अहिले सबै प्रक्रिया पूरा गरेर हामी काम गर्दैछौँ । कुनै व्यवधान आएन भने अबको २ वषमै उत्पादन वजारमा ल्याउँछौँ ।

तपाइहरूले स्थापना गरेको कम्पनीबाट कसरी बन्छ त सर्पदंशको औषधि  ?

सर्पले टोक्नेबित्तिकै मान्छे मर्दैन । मान्छेको मृत्यु हुने कारण नै आत्तिएर हो । औषधि बनाउन सर्पको विष र घोडाको रगत अनिवार्य चाहिन्छ । औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पको विष इन्जेक्सनमार्फत घोडामा पठाएपछि घोडाबाट निस्कने रगतबाट नै औषधि बनाउन सकिन्छ । सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नुपर्ने हुन्छ । घोडामा सर्पको विष सुइद्वारा दिइएपछि हरेक ३÷३ महिनामा हामी घोडालाई रक्तदान गराएर प्लाज्मामार्फत एन्टीस्नेक भेनम सेरम उत्पादनको लागि प्रक्रिया थाल्छौँ । एउटा घोडाबाट कम्तीमा ७० भायलका दरले बर्षमा ४ पटकसम्म उत्पादन हुनसक्छ । दुई वर्षपछि वार्षिक १५ लाख भायल एन्टीस्नेक भेनम सेरम उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको लागि पाँच सय हाराहारीमा सर्प र घोडा दुवै आवश्यक छ । उद्योगको सुरुवात कामसँगै अहिले यहाँ सर्प संकलन र घोडा पाल्न थालिएको छ । एन्टीस्नेक भेनम सेरम उत्पादन गरेपछि नेपालसँगै एशिया र अफ्रिकालगायतका देशमासमेत निर्यात गर्ने लक्ष्य राखिएको छ । नेपालका सवै क्षेत्रका लागि आवश्यकताअनुसार वार्षिक दस लाख भायलसम्म एन्टीस्नेक भेनम सेरम आवश्यक पर्ने हुन्छ । भारतले पनि अहिले नेपाललाई पर्याप्त भायल एन्टी भेनम दिदैन भनेको अवस्थामा अब हामीले जब उत्पादन सुरु गर्छौँ अनि गाउँपालिका र नगरपालिकास्तरसम्म सर्पदंश उपचार केन्द्र खोल्न सचेतनामूलक कार्यक्रम लिएर हिड्नेछौँ ।

तपाइहरुको भावि योजना के छ र यसमा स्थानीयको सहयोग कस्तो पाउनुभएको छ ?

हामी सर्प र घोडा पालनसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि आठ विघा जग्गा प्रयोगमा ल्याउने सोचमा छौँ । कानुनी र अन्य बाधाले गर्दा ढिलाई हुन गएको छ ।

अब सबै प्रक्रिय पूरा भइसकेकाले भौतिक संरचना निर्माणका काम अगाडि बढिरहेका छन् । सम्भतः अबको २ वर्षभित्र हामी उत्पादन थाल्छौँ । हामीहरुले तत्कालका लागि वार्षिक १५ लाख भायल औषधी उत्पादन गर्ने लक्ष्य राखेका छौँ । यसमा स्थानीयको सहयोग पनि राम्रो छ । बराहक्षेत्र नगरपालिका– ५ का स्थानीयवासी पूर्णबहादुर कार्कीले हामीलाई सित्तैमा स्वतस्फूर्तरुपमा एउटा घोडासमेत उपलब्ध गराउनुभएको छ । यसले हामीप्रति स्थानीयको सहयोग र सद्भाव कस्तो छ भन्ने स्पष्ट देखाउँछ । हामी घोडा उपलब्ध गराउने कार्कीलाई धन्यवाद दिन चाहन्छौँ ।