‘अनलाइन कक्षा’ प्रभावकारी देखिएनन् : शिक्षाविद् कोइराला

घरमै पढ्ने, सिक्ने र परीक्षाको तयारी गर्ने वातावरण बनाउने मामलामा सरकार चुकेको छ

काठमाडौँ । कोरोना भाइरस (कोभिड- १९)को महामारीका कारण लामो समयदेखि मुलुकका सबै शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा वालवालिका घरमै बस्न बाध्य छन् । यसबर्षको शैक्षिक शत्रसमेत अस्तब्यस्त भएको छ । अभिभावकहरूलाई पनि ठूलो चिन्ता थपिएको छ । अहिले विद्यालयहरूले ‘अनलाइन कक्षा’ सञ्चालन गरिरहेका छन् । सरकारले पनि ‘भर्चुअल शिक्षा’लाई अगाडि बढाइरहेको छ । तर, शिक्षाविद्हरूले ‘अनलाइन कक्षा’ले विद्यार्थीहरूबीच वर्गीय विभेद भएको बताएका छन् । यसै सन्दर्भमा शिक्षाविद् विद्यानाथ कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

कोराना भाइरसका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

अहिले शैक्षिक क्षेत्रसँगै विश्व नै अस्तव्यस्तजस्तो देखिन्छ । तर, नेपालमा शैक्षिक शत्र परिवर्तनको बेला भएकाले तुलनात्मकरूपमा कम असर परेको भन्न सकिन्छ । तै पनि विद्यार्थी एवम् अभिभावकमा स्वभाविक मनोवैज्ञानिक त्रास बढेको छ । परीक्षा स्थगित भएका विद्यार्थीका लागि यो पढ्ने र तयारी गर्ने समय थियो, तर उनीहरूले राम्रोसित पढ्न सकिरहेका छैनन् । यसप्रति सरकार र अभिभावक पनि जिम्मेवार देखिदैनन् । घरमै पढ्ने, सिक्ने र परीक्षाको तयारी गर्ने वातावरण बनाउने मामलामा सरकार चुकेको छ ।

यो स्थितिमा विद्यार्थीका लागि सरकार र अभिभावकले के गर्नुपथ्र्यो त ?

अहिले विद्यार्थीलाई चार समूह बनाएर घरमै पढाउन सकिन्थ्यो । पढाउनका लागि शिक्षक अगाडि नै उभिनुपर्छ भन्ने होइन् । अहिले प्रविधिको युग हो । प्रविधिको माध्यमबाट विद्यार्थीलाई नियमित पढाउन वा सिकाउन सकिन्थ्यो । रेडियो, टेलिभिजनसँगै इन्टरनेटको माध्यमबाट पढाइलाई निरन्तरता दिन सकिन्थ्यो । तर, त्यो हुन सकेन । त्यस्तै, घरसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउनका लागि पनि यो उपयूक्त समय हो । यसप्रति अभिभावकहरू जिम्मेवार देखिएनन् ।

अहिले सञ्चालन भइरेहको ‘अनलाइन कक्षा’ कत्तिको प्रभावकारी पाउनुभएको छ ?

अहिले सञ्चालन भइरहेको ‘अनलाइन कक्षा’ जसरी अगाडि बढ्नुपर्ने थियो, त्यसरी बढ्न नसकेका कारण त्यत्ति प्रभाकारी पाइएको छैन् । यसले विद्यार्थीहरूबीच वर्गीय बिभेद गरेको छ । केही सीमित विद्यार्थीहरू मात्र ‘अनलाइन कक्षा’को पहुँचमा छन् । जो पहुँचमा छन्, उनीहरूले पढेका छन्, जसको पहुँच छैन्, उनीहरू शिक्षा बाहिर छन् । यसमा सरकारको पटक्कै ध्यान जान सकेको छैन् । सरकारले त्यसको वैकल्पिक उपाय खोजेको छैन् । पहँुच बाहिरका विद्यार्थीहरूलाई वैकल्पिकरूपमा सरकारले अब शिक्षक परिचालन गरी विद्यार्थीहरू पढाउनुपर्दछ ।

वालवालिकाहरूलाई घरमै सिर्जनशील बनाउने उपाय चाहीँ के हुनसक्छ ?

हो, सिर्जनशील बनाउनका लागि पढाइका विकल्प पनि छन् । उनीहरूलाई भान्छाको काम सिकाउन सकिन्छ । जस्तै, खाना पकाउन, मःम, अचारजस्ता परिकार बनाउन र खानपान कस्तो हुनुपर्छ ? भनेर सिकाउन सकिन्छ । त्यस्तै सरसफाइ, गार्डनिङलगायत थुप्रै काम पनि सिकाउन सकिन्छ । जसले विद्यार्थीलाई व्यावहारिक र सिर्जनशील बनाउन सहयोग पुग्दछ ।