भूतपूर्व भारतीय गोर्खा सैनिक कृपाश्वर घलेको फस्टाउँदो ड्रागन खेती

ड्रागन खेतीले नै घलेलाई सफल ‘नमूना कृषक’का रूपमा स्थापित गरायो

काठमाडौँ । कुनैबेला बन्दुक समाएर युद्धका लागि तम्तयार रहने भूतपूर्व भारतीय गोर्खा सैनिक कृपाश्वर घलेका हातमा यतिबेला कुटो कोदालो छ । उनी बिहान देखि बेलुकासम्म कृषि व्यवसायमा नै व्यस्त देखिन्छन् ।

सैनिकको जागिरबाट अवकाश लिएपछि घले कृषि व्यवसायमा नै रमाईरहेका छन् । उनी अहिले इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा रहेको आफ्नो घरदेखि करिब ४ किलोमिटरको दूरीमा रहेको ‘तर्जुमा ड्रागन फ्रूट कृषि फर्म’मा रमाउँदै आइरहेका छन् ।

घलेले कृषि कर्म गर्ने क्रममा ‘ड्रागन फ्रूट’को खेतीका लागि रामधुनी नगरपालिका वडा नम्बर ७ स्थित रानीपोखरीमा रहेको करिब १० कट्ठा जग्गामा ‘तर्जुमा ड्रागन फ्रूट कृषि फर्म’ स्थापना गरेका हुन् । अहिले त्यो बाटो भएर हिँड्ने प्रायः मानिस दङ्ग पर्छन् र एकछिन भएपनि बगैँचामा पसेर नेपालमा भर्खरै मात्र विकसित हुँदै गएको ड्रागन फ्रूटको बारेमा जानकारी लिने र फर्म अनुगमन गर्दै आनन्दानुभूति लिँदै आइरहेका छन् ।

कृषि फर्ममा धेरैजसो समय विताइरहेका घलेले कागती खेतीलाई विस्थापित गर्दै ड्रागन फलको खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । नेपालको पूर्वी क्षेत्रमै पहिलो व्यावसायिक ड्रागन खेती भित्र्याएका उनको फार्मले छोटै समयमा नै घलेलाई सफल ‘नमूना कृषक’का रूपमा स्थापित गरेको छ । उनको ड्रागन फर्म धरान-इटहरी सडक खण्डको तरहरादेखि करिब ४ किलोमिटर पश्चिमको रानीपाखेरी गाउँमा पर्छ । त्यसैले पनि यहाँ नयाँ फलको जानकारी लिने र किन्नेहरूको चहलपहल बढ्दै गएको छ ।

उनले यहाँको फर्मले राम्रै आम्दानी दिने भएपछि १० कठ्ठा जमिनबाट बढाएर खेती गर्ने सोच बनाएका छन् । अहिले उनको फर्ममा रातो जातको ड्रागनका बोट करिब ७ सयको हाराहारीमा छ भने सेतो जातको ड्रागन २-४ वटा मात्रै छन् । निकै फस्टाएका ती विरुवाले आगामी दिनमा मनग्य फल दिन थाल्ने उनको भनाइ छ ।

मलेसियाबाट सो विरुवा ल्याएर रोपेको बताउने घलेले यहाँका जिल्लाबासीलाई उत्पादित फलको वजार बढाउने र यसबारे जानकारी दिन केही मात्रामा फलसमेत चखाइससकेका छन् । त्यस फल र यसको खेतीका बारेमा सोधपुछ गर्ने सर्वसाधारणलाई उनले आवश्यक जानकारी पनि दिएका छन् भने इच्छुकलाई आफैले नर्सरी बनाएर उत्पादन गरेको ड्रागनको विरुवा पनि बेच्दै आएका छन् ।

स्थानीय बजारमा सो फल प्रति केजी ८ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । ड्रागन फल सिउँडी जातको फल हो । नेपालमै उत्पादन शुरु भएको यो फल ठूला होटलहरूमा डेजर्ट (खानापछिको फलफूल)का रूपमा पनि प्रयोग गरिँदै आएको छ । उनको वजार पनि राम्रै छ । यस फलबाट फेसवास, वाइन, जाम, चकलेट, बिस्कुट र पाउडर बनाउन पनि सकिने घलेले बताए । उनकाअनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा ५ देखि ७ पटकसम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिन्ने गरिन्छ ।
यसको बोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्रि मधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ ।

यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । घलेले यस फलको खेतीमा फाइदा देखेका छन् । आफू अब कृषककै रूपमा व्यवसाय शुरु गरेकाले बाँकी जीवन कृषि कर्ममा नै बिताउने उनले बताए । नेपालमा कृषि कर्ममा नै राम्रो सम्भावना देखेको भूतपूर्व गोर्खा सैनिक घलेले ड्रागन फलको खेती नेपालजस्तो देशका लागि कमाई हुने खेती भएको बताउँछन् । यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने उनको सुझाव पनि छ । ड्रागन खेती भित्री तराई-मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ ।

अहिले रोपेको विरुवाले २०/२५ वर्षसम्म फल दिने गर्दछ । यसको एक बोटबाट ३ देखि ५ किलोसम्म फल लाग्छ । ड्रागन फ्रूटलाई उष्णप्रदेशीय फल पनि भनिन्छ । सिउँडी प्रजातिको भएकाले सिउँडी हुने ठाउँमा यसको खेती गर्न सकिन्छ । नेपालको तराई र भित्री मधेसमा पानी लाग्ने तर नजम्ने स्थानमा यसको राम्रो सम्भावना रहेको घलेको फर्मले पुष्टि गर्दैछ । यसको मूल खेती दक्षिण अमेरिकाको मेक्सिकोमा हुने गर्छ । ड्रागन फल रसिलो, गुलियो र स्वादिलो फल हो ।

स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टीअक्सिडेन्टयूक्त फल हो ड्रागन । यसको खेती गर्न चाहनेका लागि बिरुवा उत्पादन गर्ने सोचमा छन् घले । फूलेको झन्डै एक महिनामा खानका लागि फल तयार हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन् । यो फल करिब १८ वर्षअघि नेपालमा भित्रिएको पाइन्छ । विश्वका अरु कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको छ । यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको हो ।

नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने घलेको सुझाव छ । कृषि आफैँमा पर्यटकीय गन्तब्य भएकाले नेपालको बाझो जमिनमा नयाँ नयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तब्यको पनि विकास हुने छ । घलेले नेपालमा खेती एवं कृषि कर्म गर्ने किसानलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । सरकारले कृषिमा सम्भावना खोज्नेहरुलाई सहयोग दिन सक्ने हो भने सानो तिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै नपर्ने उनको भनाइ छ ।