आकाशबाट परेको पानीको संकलनले कृषि उपयोगमा फाइदा

आकाशे पानी संकलनले पानीको संकट भोगिरहेका घरघरको खाँचो पूरा गर्दछ

काठमाडौँ । आकाशबाट परेको पानीको संकलन र व्यवस्थापन घरेलु र कृषि उपयोगको लागि पर्ने ‘पानी संकट’ टार्न र अधिक बर्षाको कारण निम्तिने बाढी, पहिरो र डुबानजस्ता ‘पानी जन्य’ प्राकृतिक प्रकोप टार्न पनि उपयोगी हुने तथ्य विज्ञहरूले औँल्याएका छन् । स्मार्ट वास सोलुसन्स प्रालिद्वारा आयोजित ‘बर्षातको पानी संकलन र व्यवस्थापन (रेनवाटर हार्भेष्टिङ) विषयक अन्तर्राष्ट्रिय वेबिनारका विज्ञ वक्ता र सहभागीहरुले सो कुरा बताएका हुन् ।

सम्मेलनको सञ्चालन गर्दै नेपालका पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश साहले भने, ‘आकाशे पानी संकलनका फाइदै फाइदा छन्, यसले पानीको संकट भोगिरहेका घरघरको खाँचो पूरा गर्दछ, पानीको सतह पुनर्भरण गर्न सहयोग गर्दछ, कृषि प्रणालीलाई दिगो बनाउँछ र सबैभन्दा ठूलो कुरा त पानीको व्यवस्थापन गर्न नजानेर भइरहेको बाढी तथा पहिरो नियन्त्रणमा सहयोग पुर्याउँछ ।’ एसएनभी–नेपाल र क्याप्सन आउटडोर प्रालिको सहयोगमा भएको सो सम्मेलनमा बोल्दै जेनेभामा अवस्थित रेन वाटर हार्भेष्ट एलायन्सका अध्यक्ष हान हेइजनेनले भने, ‘सजिलै उपलब्ध हुने स्रोतहरुको उपयोग गर्ने ज्ञान, सीप र प्रविधि नजानेर हामीले दुःख पाइरहेका छौँ ।’

एसएनसी–नेपाल, विश्व स्वास्थ्य संगठन र सहरी विकास मन्त्रालयसँग आबद्ध रहेर झण्डै १० बर्ष नेपालमा काम गरेका अध्यक्ष हेइजनेनले दक्षिण एशियाका ग्रामीण क्षेत्रका महिलाहरुले घरेलु उपयोगको पानी संकलनमा धेरै समय खेर फाल्नुपरेको उदाहरण दिँदै भने, ‘प्रकृतिले सित्तैमा दिएको बर्षाको पानी संकलन गर्ने हो भने हामीले समय, शक्ति र जनशक्तिको पनि बचत गर्न सक्छौँ र त्यसलाई थप उत्पादनमूलक काममा लगाउन सक्छौँ । बर्षाको पानी संकलन गर्ने बानी बसाल्ने हो भने पानी भर्नका लागि महिलाले लगाउने समय शिक्षामा लगाउन सक्छन, आय आर्जनमा लगाउन सक्छन् ।’

श्रीलंकासहित धेरै देशहरुमा बर्षातको पानी संकलनमा प्रबर्धन गर्दै आएका अध्यक्ष हेइजनेनले बर्षातको पानी संकलन गर्ने प्रविधिको उपयोगले शहर,बजारमा भूमिगत पानी पुनर्भरण, शहरबजारको सौन्दर्यीकरण, स्वच्छ वातावरणको निर्माण गर्न पनि सघाउने बताए । उनले बर्षातको पानी संकलन गरेर खेतिवालीमा उपयोग गर्ने बानीले दिगो कृषिलाई सघाउने पनि बताए ।

सो अन्तर्राष्ट्रिय वेबिनारका अर्का वक्ता भारतका पुनित श्रीवास्तवले भारतको उत्तर प्रदेश,विहार र मध्य प्रदेशमा पानी सुरक्षणको लागि बर्षातको पानीको उपयोग र पुनर्भरण कार्यक्रम सञ्चालन गरिएको र यो निकै लोकप्रिय भएको बताए । उनले खानेपानीको सामुदायिक व्यवस्थापनका माध्यमबाट ती क्षेत्रमा जल चौपाल (पानी प्रजातन्त्र)को अभ्यास भएको पनि जानकारी दिए ।

पानी उपयोगिता र सञ्चालनमा विश्वभरि साझेदारी गर्दै आएको बेलायतको वाटर एडसंग हाल आवद्ध रहेका श्रीवास्तवले स्थानीयहरुलाई नै उनीहरुको पानीको समस्या समाधानमा परिचालन गर्ने उपाय अबलम्बन गरेका छन् । यसको लागि भएका इनारहरुको सफाई र तिनमा पुनर्भरणको व्यवस्था तथा पुनर्भरणको व्यवस्थासहित नयाँ इनारहरु निर्माणको अभियान उनको नेतृत्वमा चलेको छ ।

जलसंरक्षणका विभिन्न सरकारी कार्यक्रमहरु ल्याएर समुदाय परिचालन गरिरहेका श्रीवास्तवको कार्यक्रम अहिले बान्द्रा जिल्लाभर लागू भएको छ । भारतको विहार राज्य सरकारको पब्लिक हेल्थ इञ्जिनियरिङ विभागले वाटर एडसँगको साझेदारीमा हरेक घरमा पानीको सुविधा दिन ‘हर घर नल’ कार्यक्रम राज्यभर लागू गरेको छ । अन्य केही जिल्लाहरुमा चालु जलशक्ति अभियानअन्तर्गत नै पानी संरक्षणमा सामुदाय परिचालनको लागि उपयोगी औजारको रुपमा जल चौपाललाई अवलम्बन गरिएको छ ।

भूमिगत पानी पुनर्भरणमा बन्द्रामा चलेको सामुदायिक सहभागिताको अभियानलाई लिम्का बुक अफ रेकर्डमा पनि उल्लेख गरिएको उनको दावी छ । डीएफआइडी इण्डिया, विश्व बैंकको सहयोगमा उत्तरप्रदेश र उत्तराञ्चल प्रदेशमा सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, फिडब्याक भेञ्च प्रालि, हल्क्रो कन्सल्टिङ लिमिटेड, अक्सफाम, युनिसेफ, जर्मन सहयोग संस्था, आइसीआरसी, वाटर एडजस्ता संस्थामा आवबद्ध रही भारत, श्रीलंका र दक्षिण सुडानमा कार्यरत पुनितले भारतको बन्दा जिल्लामा आकाशे पानीको हरेक बूँदको महत्व संझाउन ‘कुवा तलाउ बचाओ’ र ‘भूजल बढाओ, पेय जल बचाओ’जस्ता लोकप्रिय नारा अगाडि सारिएको बताए ।

उनले ग्राम पञ्चायत, ब्लक र जिल्ला तहमा जल चौपालहरुको गठन गरी पानीको संरक्षण र उपयोगितामा समुदायलाई परिचालन गरिएको सफलताको कथा प्रस्तुत गरेका थिए । वेबिनारमा क्याप्सन आउटडोरका अनिल थमनले कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत उद्यमीहरुलाई पनि समय अनुसारका नयाँ प्रविधिका सामग्रीहरुको विकास गर्न उत्प्रेरित गरेको बताउदै यस अवधिमा आफूहरुले ‘ह्याण्ड वास स्टेशन’ र ‘पोटेवल ट्वाइलेट’को विकास गरी बजारमा ल्याउने सफलता पाएको बताए ।

दोस्रो दिनको कार्यपत्र प्रस्तोताहरुको प्रस्तुतिमा टिप्पणी गर्दै पूर्व सचिव ई सुमन शर्माले खानेपानी, बाढी पहिरोजस्ता समस्याको समाधान हामी आफैसँग भएको र बर्षातको पानी व्यवस्थापनले तिनको समाधान दिने बताए । उनले नेपालसहित संसारका धेरै देशका शहरहरुमा खानेपानीको समस्या देखिएको र परेको पानी जमिनले शोस्ने प्रविधि अबलम्बन नगरिएकोले जमिनमुनिको पानीको पुनर्भरण हुन नपाएकोले खानेपानी, सिंचाई, बन, सहरी विकास मन्त्रालय र नगरपालिकाहरुले आफ्नो नीति र कार्यक्रम बनाउदा बर्षाको पानी संकलन र व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

सम्मेलनको पहिलो दिन भारतको तामिलनाडू राज्यका रेन सेन्टरका निर्देशक डा. शेखर राघवनले बर्षातको पानी संकलनको आवश्यकता,सान्दर्भिकता र महत्वको बारेमा आफ्नो प्रस्तुति दिएका थिए । उनले स्वच्छ पानीका सतही स्रोतहरु सुक्दै गएको र भूमिगत पानीको तह गहिरिदै गएको सन्दर्भको उल्लेख गर्दै वर्षातको पानी शुद्ध पानीको स्रोत भएको दावी गरे । उनले बर्षातको पानीलाई संकलन गरी प्रशोधन गरेर पिउनयोग्य बनाएर शहरी क्षेत्रमा देखिएको खानेपानीको संकटलाई टार्न सकिने बताए ।

उनले सन १९९५ देखि नै चेन्नाईका बासिन्दाहरुलाई आफूसँग भएको पानीको स्रोत बढाउन र जमिनमुनिको दुर्लभ पानीलाई दीगो बनाउन बर्षातको पानी संकलन गर्ने घरदैलो अभियान गरेको र त्यहाँका घरधनीहरुलाई बर्षातको पानी संकलन गर्ने कार्यमा तालिमप्राप्त प्लम्बर र डकर्मीहरुको सहयोग पुर्याएको बताए । पानीको संकट समाधानको लक्ष्य लिएको सो केन्द्रको २००२ को अगष्टमा तात्कालिन मुख्य मन्त्री जयललिताले बर्षातको पानीको महत्वलाई आत्मसात गर्दै तामिलनाडु राज्यको नगर प्रशासन विभागले राज्यमा बर्षातको पानी संकलन र व्यवस्थापनलाई प्रचार प्रसार गरी प्रबर्धन गर्दै लोकप्रिय बनाउन गठन गरेको उच्चस्तरीय समितिको सिफारीस बमोजिम बनिरहेको सम्पूर्ण भवनहरुमा अनिवार्यरुपमा आकाशे पानी संकलन गर्ने कानून २००२ को अक्टोबरमा ल्याएको बताइन् ।

स्थापनाकालदेखि नै सो केन्द्रले विद्यालय र कलेजका विद्यार्थी, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिहरु, भवन निर्माणमा संलग्न इञ्जिनियर ठेकेदार र भवनमा पानी आपूर्तिको पाइपसम्बन्धी काम गर्ने प्लम्बरहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर घरघरमा बर्षातको पानी संकलन गर्न नागरिकहरुलाई प्रेरित गरेको उनको दावी थियो । उनले समान विचारयुक्त व्यक्तिहरुले आकाशगंगा ट्रष्ट स्थापना गरेर त्यसका माध्यमबाट पनि काम गरिरहेको बताए । उनले राज्य अन्तरगतका सञ्चारमाध्यम, स्थानीय तह र चेन्नाई महानगरका आर्किटेक्टर ठेकेदार,योजनाकारलाई बर्षातको पानी रएकपटक प्रयोग भएको पानीको पुनप्र्योगको बारेमा १५ वटा एक दिवसीय तालिम दिएपछि यसकार्यमा सहजता आएको पनि उल्लेख गरिन् ।

सो अन्तर्राष्ट्रिय वेबिनारको पहिलो दिन काठमाडौं महानगरपालिकाका सहरी विकास योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ पुनर्भरण कार्यक्रम अन्तरगत भएका र गरिने कार्यहरुको बारेमा प्रकाश पारेका थिए । उनले राजधानीको मुख्य नदी र खोलाहरुमा बाँध बाधेर पानीलाई रोक्ने, पानी पुनर्भरणका इनारहरु बनाउने, परम्परागत पोखरीहरुको संरक्षण गर्ने, नयाँ भवन निर्माण गर्दा बर्षातको पानी संकलन र व्यवस्थापनको प्रविधि अबलम्बन गर्नेहरुलाई अनुदान र छुट दिने जस्ता कार्यहरु भैरहेको पनि जानकारी दिए ।

सो वेबिनारमा लंका रेनवाटर हार्भेष्टिङ फोरमकी प्रमुख कार्यकारी अधिकृत तनुजा अरियानन्दले श्रीलंकामा वर्षातको पानी संकलनको नीति र यसको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले बर्षातको पानी संकलनको संस्थागत प्रयास श्री लंकामा १५ बर्ष अगाडि नै थालिएको र सन् २००५ मा नै बर्षातको पानी संकलनको नीति र रणनीति तय गर्न मन्त्रीस्तरीय समिति बनाइएको बताइन् ।

सो समितिको सिफारीस शहरी र ग्रामीण दुवै क्षेत्रमा खानेपानीको संकट टार्नको लागि बर्षातको पानी संकलन उपयुक्त उपाय भएकोले यसलाई भवन निर्माणसंग आबद्ध गरी अनिवार्य लागू गर्ने व्यवस्था भएअनुसार श्री लंकाले सन २००७ मा नै शहरी विकास प्राधिकरण ऐन अन्तरगत बर्षातको पानी संकलनको नीतिगत व्यवस्था गरेको बताइन् ।

१८ सेप्टेम्बर २००७ मा प्रमाणिकरण भएको सो ऐनमा बर्षातको पानी संकलनको राष्ट्रिय नीति र रणनीतिलाई ध्यानमा राख्दै नगर विकास योजनामा बर्षातको पानी संकलनलाई अभिन्न अंगको रुपमा समावेश गर्नुपर्ने र यसको अनुसूचिमा नगरको नाली र भवनको छाना (छत)मा बर्षातको पानी संकलनको आवश्यक प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएपछि श्रीलंकाका नगरपालिकाहरुमा बर्षातको पानी संकलनको कार्य सहज हुन गएको र यसले यो अभियान राष्ट्रिय स्तरमा फैलिएको बताइन् ।

अन्तर्राष्ट्रिय वेबिनारको पहिलो दिनका कार्यपत्र तथा वक्ताहरुको प्रस्तुतिमाथि पूर्वसचिव किशोर थापाले टिप्पणी गरेका थिए । उनले बर्षाको पानीको समुचित व्यवस्थापन गर्न नसक्दा हिउँदमा पानीको अभाव हुने बर्षामा बाढी,पहिरो र डुवानको समस्या आउने तथा सतही र भूमिगत पानीको स्रोत सुक्न गएको बताउदै यसको सदुपयोगको ज्ञान, सीप र प्रविधि व्यापक रुपमा उपयोग गर्नुपर्ने बताए ।

दुवैदिनको शत्रहरुमा कार्यपत्र प्रस्तोता र सहभागीहरुलाई स्मार्टवासका अध्यक्ष रामदीप साहले स्वागत गरेका थिए । आफ्नो स्वागत मन्तव्यमा उनले अघिल्लो बर्ष बर्षातको पानी संकलनको सम्बन्धमा गरिएको राष्ट्रिय सम्मेलनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न आफूहरुलाई उत्साहित गरेको तर विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा त्यस्तो सम्मेलन गर्न नपाए पनि विषयको गम्भीरतालाई ध्यानमा राख्दै यो विषयलाई स्थानीय, प्रादेशिक र संघीय सरकारकासाथै खानेपानीको क्षेत्रमा संकट भोगीरहेका अन्य मुलुकका सरकारसमक्ष समेत पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागितामा वेबिनार गरिएको बताए । वेबिनारको दुवै दिन स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

खानेपानी तथा पानी व्यवस्थापनका क्षेत्रमा उपलब्ध मौलिक ज्ञान,सीप र प्रविधिको संरक्षण तथा विश्वमा विकसित नयाँ ज्ञान, सीप र प्रविधिको उपयोगितालाई प्रबर्धन गर्दै आम नेपाली जनतालाई सहज रुपमा,सस्तोमा गुणस्तरीय सुरक्षित पिउने पानी उपलब्ध गराउने, पानीका स्रोत संरक्षण र व्यवस्थापन गर्ने ,शहरी ढलको व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्सको स्थापना भएको हो ।

स्थापनाको छोटो अवधिमा नै यसले गत बर्ष जुलाई २७ र २८ मा काठमाडौंमा बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी एक राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । बर्षातको पानी संकलनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने अभिप्रायले आयोजित उक्त सम्मेलन निकै उपयागी सावित भएको थियो ।

विश्वमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएर नेपालमा लकडाउन सुरु भएपछि हातको सरसफाई र खानेपानीको गुणस्तर तथा उपलब्धताको बारेमा विज्ञहरु,नीति निर्माता, अभ्यासकर्ता, अध्येता र आम उपभोक्तालाई सजग र सचेत गराउन स्मार्ट वास सोलुसन्सले यस क्षेत्रका नीति निर्माता, वैज्ञानिक, विज्ञ, प्राज्ञ, प्राविधिक तथा प्रशासनिक कर्मचारी, उपभोक्ता,सञ्चारकर्मी र स्थानीय तहका पदाधिकारीहरुको सहभागितामा केन्द्र र प्रदेश स्तरमा १८ विभिन्न विषयमा वेबिनार आयोजना गरेको थियो । स्मार्ट वासको वेबिनारका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन तथा आइसोलेश कक्षहरु व्यवस्थित गर्न धेरै सहज हुन गएको दावी पनि सो संस्थाले गरेको छ ।