सङ्क्रमण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मा

काठमाडौँमा निर्माण हुने एकीकृत क्वारेन्टीन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई

काठमाडौँ । तपाइ कोरोना भाइरस सङ्क्रमित हुनुहुन्छ ? तर, लक्षण छैन् भने अब अस्पताल भर्ना हुनु नपर्ने भएको छ । सरकारले लक्षण देखिएका सङ्क्रमितलाई मात्रै अस्पताल भर्ना गरी आइसोलेशनमा राख्ने भएको छ । सङ्क्रमण नदेखिएका कोरोना संक्रमितलाई भने अबदेखि ‘होम आइसोलेसन’मा राख्ने निर्णय सरकारले गरेको छ ।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मा रहँदा चाँडो निको हुने देखिएको बताए । ‘संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ ।’

यसैबीच सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकीकृत क्वारेन्टिनमा राखिने जनाएको छ । एकीकृत क्वारेन्टीन काठमाडौँ उपत्यकामा तयार गरिने र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

विदेशबाट उद्धार गरिने नेपालीको हकमा बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा ल्याएर क्वारेन्टिनमा राख्दा लाग्‍ने खर्च सरकारले व्‍यहोर्ने र अन्‍यको हकमा भने स्वयम यात्रुले व्‍यहोर्नु पर्ने सरकारले निर्णय गरेको छ ।