विवादसम्बन्धी सुझाव पेश गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, दाहालको अधिकार थप व्यवस्थित गरिने

काठमाडौँ । लामो समयसम्म पार्टीभित्र देखिएको गतिरोध अन्त्यका लागि सुझाव पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीनिवास वालुवाटारमा शनिवार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष प्रतिवेदन पेश गरिएको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदन बुझ्न अध्यक्ष दाहाल ४ः३० बजे बालुवाटार पुगेका थिए । लामो समयदेखि नेकपामा बढेको आन्तरिक विवाद समाधान गर्न साउन ३० गते दुइ अध्यक्षले गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको थियो ।

प्रतिवेदनलाई अन्तिमरूप दिन शनिबार बिहानैदेखि कार्यदलको बैठक बसेको थियो । ६ घण्टाभन्दा बढी समय बैठक बसेपछि प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

प्रतिवेदनमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, अर्का अध्यक्ष दाहाललाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गरिएको, सरकारका सबै निर्णय पार्टीको सहमतिमा हुने, चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउनेलगायतका सुझाव समेटिएको स्रोतको भनाइ छ ।

नेकपामा लामो समयदेखि शक्ति बाँडफाँट र सरकार-पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढ्ने विश्वास गरिएको सो प्रतिवेदन अध्यक्षद्वय ओली र दाहाल थप छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला गुटबाट २/२ जना प्रतिनिधित्व हुने गरी बनाइएको छ । जसमा ओली पक्षबाट महासचिव पौडेल र शंकर पोखरेल, अर्का अध्यक्ष दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भूषाल एवं वरिष्ठनेता माधवकुमार नेपाल पक्षबाट नेता डा. भीव रावल र सुरेन्द्र पाण्डे रहेका छन् ।