अप्ठेरोमा परेका नेपालीलाई भदौ १६ देखि स्वदेश ल्याउने तयारी

चार्टर उडानको भाडा तिर्न नसकेर विदेशमा अलपत्र पर्नेकै संख्या ५० हजार

काठमाडौँ । सरकारले विदेशमा रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर अप्ठेरोमा परेका नेपालीलाई भदौ १६ गतेबाट चार्टरका साथै नियमित उडानमार्फत स्वदेश ल्याउने तयारी अगाडि बढाएको छ । यसअघि चार्टर उडानमार्फत ५० हजारभन्दा बढीलाई स्वदेश ल्याएको सरकारले धेरै श्रमिक कार्यरत मुलुकमा भने नियमितको साटो चार्टर उडानलाई प्राथमिकतामा राखेको छ ।

साउदी अरेबिया, कतार, कुवेतलगायत मुलुकमा नियमित उडान नगर्ने निर्णयले त्यहाँ रहेका श्रमिकले स्वदेश फिर्तीमा चार्टर उडानवापत महङ्गो रकम खर्चनुपर्ने भएको छ । खाडी मुलुकमध्ये कतारमा ३ लाख ५० हजार, साउदी अरेबियामा ३ लाख र कुवेतमा ४० हजार नेपाली छन् । तर, सरकारले भदौ ४ गते सर्तसहित भदौ १६ बाट नियमित उडान सञ्चालनको निर्णय गर्दा यी मुलुकलाई छुटाएको छ ।

त्यहाँ रहेका नेपालीले स्वदेश फर्किन चार्टर उडानकै सहारा लिनुपर्नेछ । चार्टर उडानको भाडा नियमित उडानको भन्दा तीन गुणा बढी महङ्गो छ । जेठ अन्तिम सातादेखि साउन अन्तिम सातासम्म चार्टर उडानमा स्वदेश आएका ५० हजारभन्दा बढी नेपालीसँग मनपरीरूपमा भाडा उठाइएको थियो । चार्टर उडानको भाडा तिर्न नसकेर विदेशमा अलपत्र पर्नेकै संख्या ५० हजार हाराहारी छ ।

कतारबाट मात्र २० हजारभन्दा बढी तत्कालै स्वदेश फर्कने पर्खाइमा छन् । महामारीले रोजगारी गुमाएर अप्ठेरोमा परेका बेला श्रमिकमाथि आर्थिक भार थोपर्ने खालको निर्णय गरेको भनेर सरकारको आलोचना भइरहेको छ । यसमा सरकारको आफ्नै तर्क छ । साउदी अरेबिया, कतार, कुवेतलगायत मुलुकमा पीसीआर परीक्षण सहज नभएकाले त्यहाँ चार्टर उडान मात्र गर्ने निर्णय गरेको सरकारको भनाइ छ ।

तर, पीसीआर परीक्षण सहज रहेको देखाएर चीन, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, मलेसिया, युएई, हङकङ, अष्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकमा भने नियमित उडान गर्ने तयारी छ । नेपालस्थित कुटनीतिक नियोग र विकास साझेदार संस्थाका कर्मचारी तथा सरकारले अनुमति दिएका नेपाली ल्याउने प्रयोजनका लागि ती देशमा नियमित उडान सञ्चालनको तयारी गरिएको हो ।

पर्यटन मन्त्रालय अहिले उडान तालिका बनाउने गृहकार्यमा छ । अप्ठेरोमा परेका बेखर्ची श्रमिकलाई ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’को खर्चमा ल्याउने र क्वारेन्टीनमा बस्दाको खर्च पनि सरकारले नै व्यहोर्ने भनिएको छ । तर, चार्टर र नियमित उडानमार्फत दैनिक ५ सयभन्दा बढी नल्याउने भनिएकाले एकातिर नेपाली श्रमिकको स्वदेश फिर्ती लम्बिने देखिएको छ भने अर्कातिर श्रमिकमाथि आर्थिक भार पर्ने निश्चित छ ।