सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश गर्ने सहमति

शनिबार बिहान ११ बजे सचिवालय बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि शनिवार छलफल हुने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा मंगलवार भएको छलफलबाट भदौ १३ गते (शनिबार) बस्ने पार्टी सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो । ‘पार्टी अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार बिहान भएको छलफलमा शनिबार बिहान ११ बजे सचिवालय बैठक बोलाउने र कार्यदलको प्रतिवेदन पेश गर्ने सहमति भएको छ,’ वालुवाटार स्रोतले भन्यो, ‘त्यसमा दुवै अध्यक्ष सहमत हुनुभएको छ ।’

गत शनिबार महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज (मंगलबार बिहान) दुइ अध्यक्षबीच बालुवाटारमा भएको झण्डै २ घण्टाको छलफलले सो निर्णय गरेको हो ।

सचिवालयले पारित गरेर कार्यदलको प्रतिवेदन स्थायी कमिटिमा छलफल हुने महासचिव पौडेलले बताएका छन् । दुइ महिनादेखि नेकपाभित्र देखिएको विवाद समाधान लागि सुझाव दिन गठित कार्यदलले ओली सरकारका कामकारबाहीमा केन्द्रित हुने र दाहालले कार्यकारी अध्यक्षकारूपमा पार्टी सञ्चालन गर्न सुझाव दिएको छ ।

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखिरहेका बेला कार्यदलले ओलीले कुनै पनि पदबाट राजीनामा दिनु नपर्ने सहमित जुटाएको छ ।

कार्यदलले पूर्व निर्धारित चैत अन्तिम हप्ता पार्टीको एकता महाधिवेशन गर्न, पार्टी एकताका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न र मंसिरभित्र संगठित सदस्यता नविकरण सक्न सुझाव दिएको छ ।

त्यस्तै कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संघीय सरकार प्रदेश सरकारमा मन्त्रीहरुको हेरफेर गर्न, एसिसीलाई परिमार्जनसहित पारित गर्न, सरकारका सबै नियुक्ति सचिवालय र शीर्ष नेताबीच छलफल गरेर मात्र गर्न सुझाव दिएको छ ।