एन्फाले अनलाइन कोर्स सञ्चालन गर्ने

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२०–२१ सिजनका लागि विभिन्न ११ अनलाइन कोर्स सञ्चालन गर्ने भएको छ ।

मंगलबार एन्फाले सबै कोर्सका लागि कोर्स डिटेल र त्यसको मिति पनि सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण फुटबल गतिविधि ठप्प रहँदा एन्फाले नयाँ योजना सार्वजनिक गरेको हो।

एन्फाले आफ्नै अफिसियल बेवसाइटमा सबै कोर्सबारे जानकारी राखेको छ । साथै कोर्स गर्न इच्छुकहरुले एन्फाको बेवसाइटमार्फत नै आवेदन दिन सकिने जनाएको छ ।

एन्फाले एन्फारएएफसी कोचिङ लाइसेन्सका लागि विभिन्न ६ कोर्स सञ्चालन गर्ने भएको छ । यस्तै एएफसी स्पेसयल कोर्स अन्तर्गत फिटनेस कोर्स, एएफसी गोलकिपिङ कोर्स र एएफसी फुटसल कोर्च सञ्चालन गर्ने भएको छ ।

कोर्स गर्न इच्छुक कोचहरुले आफ्नो सम्पूर्ण विवरण एन्फाले राखेको फर्ममा भर्नुपर्नेछ ।

एन्फाले २०२० अक्टोबरमा ग्रासरुट कोचिङ कोर्स गर्नेछ । दुई दिने यो कोर्स फुटबल सम्बन्धी आधारभूत ज्ञान भएकोले निशुल्क लिन सक्नेछन् ।

यस्तै यसै वर्ष डिसेम्बरमा कम्युनिटी कोचिङ कोर्स (जसलाई डी लाइसेन्स पनि भनिएको छ) गर्ने भएको छ । चार दिन सञ्चालन हुने यो कोर्स लिन ३ हजार शुल्क लाग्नेछ भने यसका लागि फुटबल खेलाडी भएको हुनुपर्नेछ ।

यसैगरी एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स २०२१ जनवरीमा हुन्छ । ८ दिनको सी लाइसेन्सस कोर्सका लागि कम्युनिटी कोर्स पास गरेको हुनुपर्नेछ भने ५ हजार शुल्क लाग्नेछ ।

यस्तै १२ दिन सञ्चालन हुने ‘बी’ लाइसेन्स कोर्सका लागि ‘सी’ कोर्स गरेको हुनुपर्नेछ भने शुल्क ७ हजार लाग्नेछ ।

२०२० नोभेम्बरमा एएफसी ‘बी’ लाइसेन्स कोर्स सञ्चालन हुनेछ । ‘बी’ कोर्स पूरा गरेकोले यो कोर्स गर्न पाउनेछन् । यसका लागि १० हजार शुल्क लाग्नेछ । यो कोर्स १८ दिनको हुनेछ ।

यस्तै एन्फा एडभान्स युथ कोचिङ कोर्स २०२० डिसेम्बरमा हुनेछ । एएफसी ‘सी’ लाइसेन्स पास भएकोले यो कोर्स लिन पाउनेछन् र १० हजार शुल्क लाग्नेछ ।