नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

प्रत्येक दुई घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो रहेको छ ।
कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।